बाराको प्रभु अडिट फर्ममा छापा।
वीरगञ्ज, ६ भदौ । बाराको कलैयास्थित एक अडिट फर्ममा छापा मारीएको छ । राजस्व अनुसन्धान विभाग काठमाडौँबाट खटिएको टोलीले प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा छापा मारी कागजात र कम्प्युटर नियन्त्रणमा लिएको हो ।

नक्कली भ्याट बिलमार्फत नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा, पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गरेर करोडौँको राजस्व छली गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार फर्मबाट आवश्यक कागजात र कम्प्युटर समेत नियन्त्रणमा लिएको छ । फर्मका सञ्चालक कानु फरार रहेकाले उनलाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरिएको पनि प्रवक्ता उपाध्यायले बताए । कानु जस्तै बारा, पर्सामा नक्कली अडिट फर्म खोलेर राजस्व छल्ने ठूलो गिरोह रहेको र यो घटनापछि नक्कली अडिट गर्ने फर्म खोलेका व्यक्तिहरूबिच दर फैलियको छ ।
