मधुमेह कसरी नियन्त्रण गर्ने ?
डा. नवीन पौडेल।
मधुमेहलाई अङ्ग्रेजीमा डायबिडिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्। मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ

टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला “इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।
टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ। यसलाई पहिला “इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।
गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ। टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ। इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्। मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ। गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ। मधुमेहका मुख्य लक्षण तथा चिह्नहरू:
उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्। टाइप वान डायबिटिजमा (पहिलो प्रकारको मधुमेह) लक्षणहरू छिट्टै (हप्ता वा महिना) देखा पर्छन् तर टाइप टू डायबिटिज (पहिलो प्रकारको मधुमेह) लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्। आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्। यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ। जटिलताहरू धेरै वर्षपछि (१०-२० वर्ष) विकसित हुने गर्दछन् तर रोग लागेर पनि समयमै रोग पहिचान हुन नसकेका रोगीहरूमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्न सक्छ। मधुमेहको मुख्य पछिसम्म रहने जटिलता रक्तनलीहरूको क्षतिसँग सम्बन्धित हुन्छ। मधुमेहले मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिमलाई दुईगुणा बनाउँछ। यो रोगबाट हुने ७५% मृत्यु कोरोनरी आर्टरी डिजिजका कारणले हुने गर्दछ। मधुमेहको उपचार:
मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः
१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोप मार्फत नियमित इन्सुलिन लिने
२. रक्तचाप नियन्त्रण गर्ने
३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
४. धुम्रपान र मध्यपान त्याग्ने
५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने/