मधेश विश्वविद्यालयमा सरसफाई: शैक्षिक वातावरण सुधारको महत्वमा जोड
बिरगंज
मधेश विश्वविद्यालयले बिहीवार दोस्रो वार्षिकोत्सवको अवसरमा विश्वविद्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कानुन र जनप्रशासन संकायका विद्यार्थीहरु, साथै विश्वविद्यालयका कर्मचारीहरु मिलेर यो अभियानमा सहभागी भएका थिए।

विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले विश्वविद्यालयको सरसफाईले शैक्षिक वातावरणमा सुधार ल्याउने बताउँदै भने, “सरसफाई मात्र भौतिक व्यवस्थापन नभई मनोवैज्ञानिक रुपमा पनि सकारात्मक प्रभाव पार्छ। स्वच्छ परिसरले विद्यार्थीहरुलाई अध्ययनमा केन्द्रित राख्न मद्दत पुर्याउँछ र स्वास्थ्यलाई पनि ध्यानमा राख्नु विश्वविद्यालयको प्रमुख जिम्मेवारी हो।

यस अवसरमा उपकूलपतिका स्वकीय सचिव एवम् प्राविधिक सहायक कलसरिफ गद्दीले जानकारी दिँदै भने, “दोस्रो वार्षिकोत्सवकै अवसरमा भोली बिहान मधेश विश्वविद्यालयमै झण्डोत्तलन र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ, जसले वार्षिकोत्सवलाई विशेष बनाउनेछ। यस कार्यक्रमले विद्यार्थी र कर्मचारीमा सकारात्मक सन्देश दिनेछ।